काठमाडौं, १९ माघ — नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औ वर्षगाँठको सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेल तीन दिने औपचारिक भ्रमणका लागि जापान प्रस्थान गरेका छन्। यो भ्रमणलाई दुई देशबीचको लामो मित्रता, विकास सहकार्य र कूटनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा नेपालका लागि जापानी राजदूतलगायतले बिदाइ गरेका थिए। राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेलसहित उच्च सरकारी अधिकारीहरू संलग्न छन्। उहाँ माघ २१ गते स्वदेश फर्कने कार्यतालिका छ।
सम्राटदेखि प्रधानमन्त्रीसम्म भेटवार्ता
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नेछन्। साथै जापानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। जापानी विदेश राज्यमन्त्रीसँग पनि शिष्टाचार भेट तय गरिएको छ।
यसैबीच नेपाल–जापान सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा राष्ट्रपति सहभागी हुनेछन्। जापानी व्यावसायिक समुदायसँगको भेटघाट र जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रममा पनि उहाँको उपस्थिति रहनेछ।
सिर्फ भ्रमण होइन, सात दशकको साझेदारी
नेपाल–जापान सम्बन्ध औपचारिक रूपमा सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि मजबुत बनेको हो। तर सांस्कृतिक सम्पर्क भने त्यसअघि नै सुरु भएको मानिन्छ।
जापानले दशकौँदेखि नेपालको सामाजिक–आर्थिक विकास, पूर्वाधार, ऊर्जा, खानेपानी र सडक क्षेत्र मा महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। सिन्धुली सडक, कालीगण्डकी ‘ए’ जलविद्युत्, मेलम्ची खानेपानी, नागढुंगा सुरुङ मार्ग जस्ता परियोजनामा जापानी सहयोग उल्लेखनीय मानिन्छ।
भ्रमणको सन्देश के?
यो भ्रमणले नेपाल–जापान सम्बन्धलाई परम्परागत मित्रताबाट अघि बढाउँदै आर्थिक, पूर्वाधार र प्रविधि सहकार्यको नयाँ चरणतर्फ लैजाने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय परिवेश बदलिँदै जाँदा पुराना साझेदारसँगको सम्बन्ध सुदृढ गर्नु नेपालको कूटनीतिक प्राथमिकता मानिन्छ।

