बारामा पत्रकारमाथि कुटपिट, दोषीलाई कारबाही गर्न माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, ३१ भदौ ।
नेपाल पत्रकार महासंघ बारा शाखाका सदस्य बसन्त लामामाथि केही अराजक समूहले कुटपिट गरेको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
मंगलबार पत्रकार महासंघ बारा शाखाले जारी गरेको विज्ञप्तिमा लामामाथि हत्याको मनसायले आक्रमण भएको उल्लेख छ । पत्रकार लामा बाराको निजगढ नगरपालिका–१ स्थित बन्सथली हाट बजार नजिकै मोटरसाइकलमा आएका व्यक्तिहरूको समूहबाट कुटपिटमा परेका थिए । आक्रमणका कारण उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।
महासंघले घटनाप्रति निन्दा र भर्त्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेको छ । विज्ञप्तिमा प्रकाशित समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउन सकिने विकल्प हुँदाहुँदै पत्रकारमाथि आक्रमण हुनु दुःखद भएको उल्लेख छ ।
त्यस्तै, महासंघले पत्रकार र पत्रकारिताको सुरक्षाबारे गम्भीर प्रश्न उठेको भन्दै स्वतन्त्र र निर्भय वातावरणमा पेशा सञ्चालन गर्न सक्ने अवस्था बनाउन राज्यका सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
घाइते पत्रकार लामाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महासंघले घटनालाई प्रेस स्वतन्त्रतामाथि भएको आक्रमणका रूपमा लिएको स्पष्ट गरेको छ ।
विज्ञप्ति महासंघ बारा शाखाका सूचना अधिकारी तथा सहसचिव इन्दीप कोइरालाले जारी गरेका हुन् ।

Leave a Comment