पहिरोको कहर : जाजरकोटमा तीन बेपत्ता, रोल्पामा वृद्धाको मृत्यु, पृथ्वी राजमार्ग खुल्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । लगातारको वर्षासँगै विभिन्न जिल्लामा पहिरोका घटना बढेका छन्। जाजरकोटमा पहिरोका कारण तीन जना बेपत्ता भएका छन् भने १० जना घाइते भएका छन्। यस्तै, रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ।
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा शनिबार दिउँसोदेखि परेको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खसेको हो। पहिरोबाट घर तथा टहरा भत्किनुका साथै भाग्ने क्रममा ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।
बेपत्ता भएकाहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
पहिरोमा परी घाइते भएका १० जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। ६० वर्षीय रामबहादुर शाहीलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। उनी आरनमा काम गरिरहेका बेला माथिबाट आएको पहिरोले पुरिएका थिए।
त्यस्तै, ५२ वर्षीय केदार कार्कीलाई पनि जिल्ला अस्पतालमा उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ। अन्य आठ जनाको जिल्ला अस्पताल तथा स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना आफन्तको घरमा आश्रय लिएर बसेका छन्। सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा क्षति पुर्‍याएको छ।
घर भत्किएको तथा जोखिममा परेका परिवारको उद्धारका लागि शनिबार बेलुकीदेखि ५० जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
रोल्पामा वृद्धाको मृत्यु
रोल्पाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तर वर्षाका कारण आइतबार बिहान खसेको पहिरोले घर पुरिँदा गुरुङको मृत्यु भएको हो।
पहिरो हटाएपछि पृथ्वी राजमार्ग सञ्चालन
यसैबीच, पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित सडकमा शनिबार राति रुखसहितको सुक्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फको यातायात ठप्प भएको थियो।
प्रहरीका अनुसार करिब आठ घण्टा लगाएर पहिरो हटाएपछि आइतबार बिहान सवा ६ बजेदेखि सडक सञ्चालनमा आएको हो। पहिरो पन्छाउन पाँचवटा उपकरण प्रयोग गरिएको थियो।
सडक खुलेसँगै लामो समयदेखि जाममा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन्।

Leave a Comment