जनमत छाडेका नेताहरुले घोषणा गरे जनस्वराज पार्टी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

जनकपुरधाम – ५ असोज ।
जनमत पार्टीबाट निस्कासित भएका नेताहरुले नयाँ राजनीतिक संगठन जनस्वराज पार्टी को घोषणा गरेका छन् । असोज ३ र ४ गते जनकपुरधाममा सम्पन्न भेलाले पुराना दलहरूको असफलता, बेथिति र भ्रष्टाचारविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने निर्णय गर्दै पार्टी गठन गरेको हो ।

पार्टीको संयोजकमा ई. दिपक साहलाई चयन गरिएको छ । भेलाले पुराना दलहरू आत्मकेन्द्रित र विभाजनकारी मानसिकताले ग्रस्त भएकाले जनताको आकांक्षा र अधिकारमाथि तानाशाही ढंगले खेलबाड भएको ठहर गर्दै अब जनता आफैं सशक्त भएर आफ्नो भविष्य निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीको संगठनात्मक संरचना विस्तारका क्रममा डा. संजयकुमार साहको संयोजकत्वमा प्रशिक्षण विभाग र ई. सुरेन्द्र नारायण यादवको संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ । संयोजक साह यसअघि जनमत पार्टीमा वरिष्ठ उपाध्यक्ष थिए भने आर्थिक विभाग प्रमुख बनेका यादव कोषाध्यक्ष थिए । अन्य विभाग चाँडै गठन गरिने बताइएको छ ।

जनस्वराज पार्टीले आफ्नो मुख्य एजेन्डामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र जवाफदेही राजनीति, शिक्षा–स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, महिला, युवा, दलित, मुस्लिम, किसान, श्रमिकलगायत विपन्न वर्गको सशक्तीकरण तथा स्थानीय स्वायत्तता सहितको कार्यकारी राष्ट्रपति प्रणालीलाई प्राथमिकता दिने घोषणा गरेको छ

Leave a Comment