पाकिस्तान प्रशासित कश्मीरमा प्रदर्शन हिंसात्मक, तीन प्रहरीको मृत्यु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

पाकिस्तान प्रशासित कश्मीरमा जारी विरोध प्रदर्शन बुधबार हिंसात्मक बनेपछि तीन प्रहरीको मृत्यु भएको छ भने करिब १५० जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

चम्याती क्षेत्रमा भएको झडपपछि पाकिस्तानका प्रधानमन्त्री चौधरी अनवरुल हक र संघीय मन्त्री तारिक फजल चौधरीले संयुक्त पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएका थिए। प्रधानमन्त्री हकले हिंसा कुनै समाधान नभएको बताउँदै, वार्ताबाट मात्रै समस्या समाधान हुने बताएका छन्।

संघीय मन्त्री चौधरीले समितिका नेताहरूसँग संवाद गर्न प्रधानमन्त्रीले जिम्मेवारी दिएको बताउँदै सरकार प्रदर्शनकारीहरूको करिब ९० प्रतिशत माग पूरा गर्न तयार रहेको उल्लेख गरे।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले पारदर्शी अनुसन्धान गर्न र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। “शान्तिपूर्ण विरोध नागरिकको संवैधानिक अधिकार हो, तर सार्वजनिक शान्ति भंग गर्नु स्वीकार्य छैन,” सरिफको भनाइ छ।

प्रदर्शनकारीहरूको प्रमुख माग

जम्मु कश्मीर पब्लिक एक्सन कमिटी (पीएसी) ले सरकारसमक्ष राखेका प्रमुख मागहरू यसप्रकार छन्–

प्रशासनिक अधिकारी र नेताहरूको विशेषाधिकार अन्त्य

पाकिस्तानमा बसोबास गर्ने शरणार्थीहरूका लागि १२ विधानसभा सिट

निःशुल्क स्वास्थ्य, पोसाक र शिक्षा

अन्तर्राष्ट्रिय विमानस्थल स्थापना

कोटा प्रणालीको अन्त्य

न्यायिक प्रणाली सुधार

हालै भएको सरकार–पीएसी वार्ता असफल भएपछि विरोध प्रदर्शन झन् उग्र बनेको बताइन्छ।

Leave a comment