काठमाडौं । कतारको रास लफान औद्योगिक क्षेत्रमा रहेको बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको भीषण विस्फोटमा १८ जना बेपत्ता भएका छन् भने ५४ जना घाइते भएका छन्।
कतारको आन्तरिक मन्त्रालयका अनुसार बेपत्ता श्रमिकको खोजीका लागि विशेष उद्धार टोली परिचालन गरिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनामा परेका श्रमिकको राष्ट्रियता भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिकसहित ठूलो संख्यामा विदेशी कामदार कार्यरत छन्। नेपाली श्रमिकहरू विशेषगरी स्काफफोल्डिङलगायत प्राविधिक काममा संलग्न रहने गरेका छन्।
सरकारी स्वामित्वको कम्पनी QatarEnergy ले प्राविधिक काम भइरहेका बेला आइतबार राति अचानक विस्फोट भएको जनाएको छ। घटनापछि सुरक्षा निकाय र उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
बार्जान ग्यास केन्द्र कतारको महत्वपूर्ण ऊर्जा संरचनामध्ये एक हो। यहाँबाट दैनिक करिब १.४ अर्ब स्ट्यान्डर्ड क्युबिक फिट ग्यास उत्पादन हुने क्षमता रहेको बताइएको छ। उत्पादनमा असर परे विश्व ऊर्जा बजारमा समेत प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
यसअघि रास लफान क्षेत्र इरानसँगको तनावका क्रममा क्षेप्यास्त्र आक्रमणबाट प्रभावित भएको थियो। त्यसपछि रोकिएको ग्यास उत्पादन पुनः सञ्चालन गर्ने क्रममा यो दुर्घटना भएको जनाइएको छ।
उक्त क्षेत्रमा कतारसँगै बहुराष्ट्रिय ऊर्जा कम्पनी ExxonMobil को समेत लगानी रहेको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
कतारको ग्यास केन्द्रमा भीषण विस्फोट, १८ श्रमिक बेपत्ता, ५४ घाइते
Leave a Comment
Leave a Comment






