असोज १८, काठमाडौं – मधेश प्रदेशसहित देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा ११७ मिलिमिटर मापन गरिएको छ ।
वीरगञ्जसँगै पर्साकै मुडली, रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ । त्यस्तै बाराको कलैयामा १०५.८, रौतहटको गौरमा १०४.६, महेशपुरमा १०१.४ र गरुडामा ८९.६ मिलिमिटर वर्षा भएको छ । मधेश प्रदेश अन्तर्गत कैलालीको गर्भा दरबार केन्द्रमा पनि ८६ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।
मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित मौसम प्रणालीको असरले नेपालमा भारी वर्षा भइरहेको हो । असोज २० गतेसम्म निरन्तर वर्षा जारी रहन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।
बाढी जोखिम बढ्दो
अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ । काठमाडौं उपत्यका समेत अति उच्च जोखिममा परेको छ । सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन लगायतका जिल्लालाई अति उच्च जोखिमको सूचीमा राखिएको छ ।
त्यसैगरी, इलाम, झापा, मोरङ, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा पनि बाढी तथा पहिरोको जोखिम बढेको विभागको चेतावनी छ ।
सावधानीका लागि आग्रह
विभागले वर्षाको दर अझै बढ्ने सम्भावना भएकाले नदी–नाला आसपासका क्षेत्रमा बस्नेहरूलाई सुरक्षित स्थानतर्फ सारिन, अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।



Leave a Reply