२०८२ असोज २२, काठमाडौं।
साइबर अपराधसम्बन्धी उजुरीका विषयमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा डेढ घण्टा लामो लिखित बयान दिएका छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि बस्नेतलाई बयानका लागि बोलाइएको थियो। उक्त निर्देशनअनुसार उनी बुधबार बिहान भोटाहिटीस्थित साइबर ब्यूरोमा उपस्थित भई बयान दिएका हुन्।
ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीका अनुसार, “उहाँ बयान दिएर भर्खरै निस्कनु भएको छ। यो काम सरकारी वकिल कार्यालयको निर्देशनअनुसार नै गरिएको हो।”
ब्यूरो स्रोतका अनुसार बस्नेतले सरकारी वकिल कार्यालयले तयार पारेका प्रश्नहरूको लिखित जवाफ दिएका हुन्। उनले इन्कारी बयान दिएको पनि स्रोतले जनाएको छ।
“सरकारी वकिल कार्यालयले हामीलाई तीन वटा कार्यादेश दिएको थियो। तीमध्ये बयानको काम पूरा भइसकेको छ, बाँकी दुई कार्य सम्पन्न भएपछि प्रतिवेदन बुझाइनेछ,” ब्यूरो स्रोतले जानकारी दियो।
बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन्। प्रारम्भिक चरणमा अनुसन्धान अघि नबढेपछि सरकारी वकिल कार्यालयले केही दिनअघि साइबर ब्यूरोलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार बस्नेतलाई बयानका लागि बोलाइएको हो।
स्रोत: अनलाइनखबर (OnlineKhabar.com)



Leave a Reply