इजरायल–प्यालेस्टाइन द्वन्द्व : हरेक १७ मिनेटमा एक बालबालिकाको मृत्यु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

जेनेभा, एजेन्सी।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले इजरायल–प्यालेस्टाइनबीचको द्वन्द्व सुरु भएको दुई वर्षको अवधिमा करिब ६१ हजार बालबालिकाको मृत्यु वा अपाङ्गता भएको भयावह तथ्य सार्वजनिक गरेको छ।

स्विट्जरल्यान्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले गाजाको स्थितिलाई अत्यन्तै दयनीय बताउँदै औसतमा हरेक १७ मिनेटमा एक बालबालिकाको मृत्यु वा घाइते हुने गरेको जानकारी दिए।

उनका अनुसार द्वन्द्वका कारण बालबालिकाहरू शारीरिक र मानसिक रूपमा गहिरो आघातमा बाँचिरहेका छन्। “कुनै पनि बालकले कहिल्यै देख्नु नपर्ने भयावह अवस्था उनीहरूले सामना गरिरहेका छन्,” पिरेसले भने।

उनी भन्छन्, “गाजामा प्रत्येक पाँच बालक मध्ये एकजना समय नपुगी जन्मन्छ। ती नवजात शिशुहरूलाई जीवित राख्न अक्सिजन मास्क र इन्क्युबेटर आवश्यक पर्छ, तर स्वास्थ्य पूर्वाधारको अभावका कारण उनीहरूको जीवन जोखिममा छ।”

युनिसेफका अनुसार गाजामा कार्यरत टोलीहरूले उत्तरी क्षेत्रबाट सारिएका नवजात शिशुहरूका लागि इन्क्युबेटर र भेन्टिलेटर पुर्‍याउने प्रयास गरिरहेका छन्। तर सुरक्षा अवस्थाको कारण आवश्यक सहयोग पुर्‍याउन कठिनाइ भइरहेको छ।

पिरेसले भने, “हामीले सम्भव भएसम्म बच्चाहरूलाई सुरक्षित स्वास्थ्य क्षेत्रमा सार्ने प्रयास गरिरहेका छौँ। तर गाजाको युद्धग्रस्त अवस्थाले यो कार्य पनि चुनौतीपूर्ण बनाएको छ।”

द्वन्द्वका बीचमा हजारौं बालबालिकाहरू बाँच्नका लागि संघर्षरत रहेको युनिसेफले जनाएको छ।

Leave a comment