मध्यावधि चुनावलाई लिएर ट्रम्पको चेतावनी : हारे महाभियोगको जोखिम

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, पुस २४ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ मा हुने कंग्रेसको मध्यावधि चुनावलाई आफ्नो राजनीतिक भविष्यसँग प्रत्यक्ष जोड्दै रिपब्लिकन पार्टीलाई जसरी पनि जित निकाल्न आह्वान गरेका छन्। चुनावमा पराजय भए डेमोक्र्याटहरूले आफूविरुद्ध पुनः महाभियोगको प्रक्रिया अघि बढाउने उनको दाबी छ।

रोयटर्सका अनुसार वासिङ्टनमा आयोजित रिपब्लिकन सांसदहरूको भेलामा ट्रम्पले स्पष्ट शब्दमा भने, “यदि हामीले मध्यावधि चुनाव जितेनौं भने उनीहरूले मलाई महाभियोग लगाउने कुनै न कुनै बहाना खोज्नेछन्।” उनले चुनाव जित्नुलाई पार्टी मात्र नभई आफ्नो सुरक्षा र स्थायित्वसँग जोडेर प्रस्तुत गरे।

भेनेजुएलामा अमेरिकी हस्तक्षेप, राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी प्रयास र ग्रीनल्याण्डसम्बन्धी विवादका कारण पछिल्लो समय चर्चामा रहेका ट्रम्पले आगामी नोभेम्बर २०२६ को चुनावका लागि एजेन्डा तय गर्न थालिसकेका छन्। सम्भावित अनुसन्धान र आरोपहरूबाट जोगिन पनि उनले मध्यावधि चुनावलाई निर्णायक मानेका छन्।

ट्रम्पले पार्टीभित्रको मतभेद अन्त्य गर्दै स्वास्थ्य सेवा, निर्वाचन निष्पक्षता र लैङ्गिक नीतिलगायत विषयलाई जनतामाझ प्रभावकारी रूपमा लैजान सांसदहरूलाई निर्देशन दिए। विशेषगरी बढ्दो महँगीका कारण असन्तुष्ट जनतालाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

“राष्ट्रपतिको चुनाव जित्नेले मध्यावधि चुनाव हार्छ भन्ने चलन छ,” ट्रम्पले भने, “तर जनताको सोचमा आखिर के चलिरहेको छ, मलाई बुझ्न मन छ।”

फर्स्टपोस्टका अनुसार करिब ८४ मिनेट लामो भाषणमा ट्रम्पले सेयर बजारको वृद्धिदेखि जनवरी ६, २०२१ मा भएको क्यापिटल हिल आक्रमणसम्मका विषयमा चर्चा गरे। भेनेजुएलाको विषयमा भने उनले सीमित समय मात्र खर्चिएका थिए।

भाषणका क्रममा उनले हल्का ठट्टा पनि गरे। भेनेजुएलाका राष्ट्रपति मादुरोले आफ्नो ‘डान्स स्टाइल’ नक्कल गरेको टिप्पणी गर्दै उनले पत्नी मेलानिया ट्रम्प आफूलाई सार्वजनिक रूपमा नाच्न नदिने गरेको प्रसंग सुनाए।

डेमोक्र्याटहरूको ‘ओबामाकेयर’ सन्देशलाई कमजोर बनाउन ट्रम्पले स्वास्थ्य सेवालाई रिपब्लिकनहरूको मुख्य मुद्दा बनाउन आग्रह गरे। “स्वास्थ्य सेवा अत्यन्तै महत्त्वपूर्ण विषय हो, यसको नेतृत्व लिनुहोस् र समाधान खोज्नुहोस्,” उनले सांसदहरूलाई भने।

ट्रम्पको अघिल्लो कार्यकाल (२०१७–२०२१) मा डेमोक्र्याट बहुमत रहेको प्रतिनिधिसभाले उनलाई दुई पटक महाभियोग लगाएको थियो। तर दुवै पटक सिनेटबाट उनी दोषमुक्त भएका थिए।

हाल ट्रम्प अध्यागमन, सैन्य कारबाही र संघीय नियमनका क्षेत्रमा कार्यकारी अधिकार विस्तार गर्दै अघि बढिरहेका छन्। यसैबीच, उनले लगाएका भन्सार शुल्क कंग्रेसको अधिकार क्षेत्रभित्र पर्छन् वा पर्दैनन् भन्ने विषयमा अमेरिकी सर्वोच्च अदालतको महत्त्वपूर्ण फैसला आउन बाँकी छ।

Leave a Comment