हेटौँडामा ३४ लाख रुपैयाँ बराबरको पटाका र कपडा बरामद, दुई जना पक्राउ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२४ असोज, बारा । चाडपर्वको समयमा तस्करी बढ्ने क्रमसँगै मकवानपुर प्रहरीले ठूलो परिमाणको राजस्व छलीको सामान बरामद गरेको छ। वीरगंजबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ च ९०२३ नम्बरको योद्धा गाडीबाट २० लाख रुपैयाँ बराबरको पटाका र १४ लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको हो।

शुक्रबार बिहान हेटौँडा–१५ रातोमाटेस्थित चार्जिङ स्टेशन नजिकैबाट प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएर १३० थान सारी, ६९६ थान कुर्था र १७५ थान टप्ससहितको कपडा र ठूलो परिमाणमा पटाका फेला पारेको हो।

घटनामा संलग्न रौतहट, वृन्दावन–९ का प्रदीप कुमार चौधरी र गरुडा–४ का विजय साहलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

स्रोतका अनुसार उक्त तस्करीका सामान पर्साको गण्डक प्रहरी चौकी, परवानीपुर प्रहरी, बारा जिल्लाका जितपुर, सिमरा, पथलैया, अमलेखगञ्ज लगायतका सुरक्षा चौकीहरू पार गरी मकवानपुरसम्म पुगेको बताइएपछि प्रहरी भित्रको मिलेमतोबारे शंका उत्पन्न भएको छ।

चाडपर्व नजिकिँदै गर्दा भारतीय बजार रक्सौलबाट दैनिक उपभोग्य वस्तुको बहानामा राजस्व छलीका सामान नेपाल भित्र्याइने क्रम बढेपछि मकवानपुर प्रहरीले निगरानी कडाइ गरेको जनाएको छ।

यसअघि बुधबार पनि प्रहरीले बिलबिजकभन्दा बढी मालसमान बोकेको कन्टेनरसहित चालक हीरालाल प्रसाद कुर्मीलाई पक्राउ गरी २८ लाख ७० हजार रुपैयाँ बराबरको राजस्व छलीको सामान बरामद गरेको थियो।

Leave a comment