श्री मुआमाई के मेला भव्यरूपमा उद्घाटन, पूर्व मेयर यादवद्वारा धार्मिक एवं समसामयिक मन्तव्य

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, असोज २५ । कलैया उपमहानगरपालिका–११ र १२ स्थित सितलपुर–बिसम्भरपुरमा यस वर्षको श्री मुआमाई के मेला भव्य रुपमा प्रारम्भ भएको छ। मेलाको उद्घाटन कलैया उपमहानगरपालिकाका पूर्व मेयर राजेश राय यादवले एक विशेष समारोहका बीच गर्नुभयो।

उद्घाटनपछि प्रमुख अतिथि यादवले धार्मिक र समसामयिक दृष्टिकोणबाट मन्तव्य दिँदै भन्नुभयो,

“शक्ति स्वरूपा मुआमाई हाम्रो आस्थाको केन्द्र हुन्। मेलाले केवल रमाइलो मात्र होइन, भक्ति, श्रद्धा र समुदायबीच प्रेम र सद्भाव फैलाउने माध्यमको रूपमा काम गर्छ। जहाँ आस्था बलियो हुन्छ, त्यहाँ समाजमा शान्ति र समृद्धि स्वतः आउँछ।”

उहाँले थप भन्नुभयो,

“आजको समयमा विज्ञान र प्रविधिले मानिसलाई अघि बढाएको छ, तर संस्कार र धर्मले नै उसको चरित्र निर्माण गर्छ। हाम्रो संस्कृतिको जड धर्म र आस्था हो — जसलाई पुस्तौंसम्म जोगाएर राख्नु हाम्रो कर्तव्य हो।”

उहाँले मेलाका आयोजक र श्रद्धालुहरूलाई शुभकामना दिंदै मेला–पर्वहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मेला समिति अध्यक्ष राधा यादवले स्वागत मन्तव्य राख्दै मेला आयोजनाको उद्देश्य स्थानीय संस्कृति र परम्पराको संरक्षण रहेको बताउनुभयो।

कार्यक्रमको सञ्चालन मुकेश चन्द कुशलताले गर्नुभएको थियो। सो अवसरमा वार्ड नं. ११ का अध्यक्ष अजय कुशवाहा र वार्ड नं. १२ का अध्यक्ष लालबाबु मण्डलले पनि मुआमाईको कृपा र मेलाको धार्मिक महत्त्वबारे मन्तव्य दिनुभएको थियो।

त्यस्तै, मकसुद असारी, रुपेश यादव, हुलासी यादव, नितेश कुशवाहा, साथै नेपाली कांग्रेसका जिल्ला सदस्यहरू रवि साह, प्रेमचन्द्र कुशवाहा, वासुदेव महतो, महेन्द्र महतो, लालजी राम, रुपेन्द्र कुशवाहा, रामनाथ कुशवाहा र चन्दन कुशवाहा लगायतको उपस्थिती रहेको थियो।

ने.रा.आ.बि. सितलपुरका प्रधानाध्यापक राजकिशोर सहनीले धार्मिक शिक्षाको माध्यमबाट नै समाजमा नैतिकता र अनुशासन बढ्ने बताउँदै धर्म, शिक्षा र समाज एक अर्काका पूरक भएको धारणा राख्नुभयो।

मेलामा हरेक साँझ भजन–कीर्तन, आरती तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

Leave a comment