बारा, असोज २५ ।
नेपाल सरकारले हैजाको जोखिम बढ्दै गएपछि बारा जिल्लामा भोलिदेखि हैजाविरुद्धको खोप अभियान शुरू गर्ने भएको छ। यसअघि पर्सामा प्रारम्भ गरिएको यो अभियान अन्तर्गत बाराको जितपुरसिमरा र कलैया उपमहानगरपालिका सहित परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबै व्यक्तिलाई मुखमार्फत खुवाइने खोप दिइनेछ। यो खोप अभियान असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। बारामा करिब ३ लाख ६५ हजार ९ सय ३१ जनालाई लक्षित गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार यो खोप अभियानले आगामी वर्षमा देखा पर्न सक्ने महामारीलाई रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ। उनले भने, “हैजाविरुद्धको खोपले कम्तीमा ६ महिनासम्म रोगको संक्रमण हुन नदिने र दीर्घकालीन प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्छ।”
खोप अभियानको सफलताका लागि जिल्ला स्वास्थ्य कार्यालय बाराले आज सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको छ। अन्तरक्रियाको सञ्चालन सरिता कुरारी यादव र सहजीकरण कञ्चन नेपालीले गरेका थिए।
यस अभियानमा विश्व स्वास्थ्य सङ्गठन (WHO), युनिसेफ, रेडक्रस लगायतका निकायहरूको सहकार्य र अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) को समन्वय रहनेछ।
स्वास्थ्य अधिकारीहरूले बाराका स्थानीय तह र नागरिकलाई सचेत रहँदै खोप अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।
सञ्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, उपाध्यक्ष पन्नालाल दास लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।



Leave a Reply