काठमाडौं, फागुन ६ — प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशमार्फत पूर्वराजा ले नेपाल इतिहासकै सबैभन्दा गहिरो र दर्दनाक अवस्थामा पुगेको बताएका छन्। देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस आम नेपालीले गरिरहेको उल्लेख गर्दै उनले विगतका आन्दोलन र परिवर्तनले मुलुकलाई के दियो भन्ने गम्भीर आत्मसमीक्षा आवश्यक भएको बताएका हुन्।
पूर्वराजाले देश अहिले अस्वाभाविक छटपटीको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्दै वास्तविक शत्रु विपन्नता र अस्थिरता भएको बताए। तर नेपाली–नेपालीबीच वैरभाव बढाउने गलत राजनीतिक संस्कृतिले परिस्थिति झन् जटिल बनेको उनको भनाइ छ। “हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर हामीले एकअर्कालाई नै बैरी ठान्ने संस्कृतिलाई बढावा दिएका छौं,” उनले सन्देशमा उल्लेख गरेका छन्।
पूर्वी नेपाल भ्रमणपछि राजधानी फर्कँदा आफूले पाएको स्वागत र सद्भावप्रति आभार व्यक्त गर्दै उनले त्यसले आफूमा दायित्वबोध थपिएको पनि बताए। वर्तमान असामान्य परिस्थितिमा परस्पर घृणा र द्वन्द्वको राजनीति अन्त्य गरी राष्ट्रिय एकता र सहमतिको मार्ग रोज्न उनले सबै पक्षलाई आह्वान गरेका छन्।
पूर्वराजा शाहले राष्ट्रिय सहमति कायम नगरी चुनावतर्फ जानु मुलुकका लागि हितकर नहुने संकेत गर्दै द्वन्द्व र विभाजनलाई कायम राखेर हुने प्रतिस्पर्धात्मक राजनीति देशको दीर्घकालीन स्थायित्वका लागि घातक हुनसक्ने चेतावनी पनि दिएका छन्।

