२ कात्तिक, बारा । नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सूचना मन्त्रालय र महासंघको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र पठाउँदै तत्काल सुधारको माग गरेको हो।

विज्ञप्तिमा प्रहरी प्रमुख तामाङका गतिविधिले जिल्लामा कार्यरत पत्रकारहरूको मनोबल गिराएको र उनीहरूलाई अनावश्यक निगरानीमा राख्ने, मानसिक प्रताडना दिने काम भइरहेको उल्लेख छ।
महासंघका अनुसार, अध्यक्ष रमेश सुवेदीले लेखेको समाचारलाई लिएर उनलाई दुई दिनसम्म मानसिक प्रताडना दिइएको र प्रहरी प्रमुखले जाहेरीकर्ताको पक्षमा वकालत गरेको आरोप लगाइएको छ।
दशैंअघि प्रकाशित ‘तस्करसँगको मिलिभगत’ विषयक समाचारको बदला स्वरूप प्रहरी प्रमुखले पत्रकारमाथि दबाब सिर्जना गरेको दाबी महासंघले गरेको छ।
यही कारण पत्रकारहरूले ७०औं प्रहरी दिवस कार्यक्रममा सहभागी नहुने निर्णय गर्दै सांकेतिक विरोधसमेत जनाएका थिए।
महासंघका सचिव पुष्पराज खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा पत्रकारहरूको सुरक्षा र निर्भीक पत्रकारिता सुनिश्चित गर्न प्रधानमन्त्री, गृह मन्त्रालय र सिडिओसहित सम्बन्धित निकायको हस्तक्षेप माग गरिएको छ।



Leave a Reply