सरकारी र निजी सम्पत्तिमा तोडफोड, आगजनी आपराधिक मानसिकताको परिणाम : गृहमन्त्री

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३१ असोज, काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आपराधिक मानसिकता भएका व्यक्तिहरूले आन्दोलनलाई हिंसात्मक रूप दिएको बताएका छन् ।

७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले आन्दोलनको आडमा विभिन्न आपराधिक गतिविधिहरू गरिएको बताए ।

उनका अनुसार, नेपाल सरकारका महत्त्वपूर्ण प्रतिष्ठान, व्यापारिक संस्था, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू तथा निजी सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटसमेत गरिएको छ । “सयौं प्रहरी कार्यालयमा आगजनी, सवारी साधनमा तोडफोड, हातहतियार तथा सुरक्षा उपकरण लुटपाट भयो,” मन्त्री अर्यालले भने ।

गृहमन्त्री अर्यालले अशान्त परिस्थितिमा पनि नेपाल प्रहरीले संयम र कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गरेको उल्लेख गरे । उनले प्रहरी नागरिक सुरक्षा र विश्वासको केन्द्र भएको बताउँदै नागरिक सहभागितामार्फत मर्मत र पुनर्स्थापनाको कार्यले प्रहरीप्रतिको जनविश्वास झनै बलियो बनेको धारणा व्यक्त गरे ।

Leave a comment