जापानले पहिलोपटक महिला प्रधानमन्त्री पायो, साने ताकाइची ‘आइरन लेडी’का रूपमा निर्वाचित

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ कार्तिक, टोकियो ।
जापानले आफ्नो राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। संसदको दुवै सदनमा बहुमत हासिल गर्दै सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (LDP) की नेतृ साने ताकाइची प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन्।

६४ वर्षीया ताकाइची जापानकी ‘आइरन लेडी’का रूपमा परिचित छिन्। उनी दक्षिणपन्थी विचारधाराकी दृढ नेतृ मानिन्छिन् र पूर्व प्रधानमन्त्री शिन्जो आबेकी नजिककी सहयोगी हुन्। यसअघि पनि उनले दुई पटक प्रधानमन्त्री बन्ने प्रयास गरेकी थिइन्।

राजनीतिमा प्रवेश गर्नु अघि ताकाइची टेलिभिजन होस्ट थिइन्। राजनीतिमा आएपछि उनले मन्त्रीका रूपमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्। रोचक कुरा के छ भने उनी हेभी मेटल संगीतकी रुचिकर्ता तथा ड्रमर समेत हुन्।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ताकाइचीको प्रशंसा गर्दै उनलाई ‘अत्यन्त सम्मानित र बुद्धिमान नेता’ भनेका छन्।

प्रधानमन्त्री बनेपछि उनीमाथि ठूलो जिम्मेवारी आएको छ। सुस्त अर्थतन्त्रलाई गति दिने, अमेरिका–जापान सम्बन्धमा देखिएको तिक्ततालाई न्युनिकरण गर्ने र आन्तरिक रूपमा विभाजित सत्तारुढ दललाई एकताबद्ध बनाउने चुनौती उनीमाथि रहेको छ।

गत पाँच वर्षमा लिबरल डेमोक्रेटिक पार्टीले चौथोपटक नयाँ प्रधानमन्त्री पाएको हो, जसले जापानी राजनीतिमा स्थायित्वको अभाव झल्काउँछ।

Leave a comment