७ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल भारतविरुद्धको आगामी टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) क्रिकेट शृङ्खलाका लागि टोलीमा पुनः फर्किएका छन्।
तीन साताअघि दायाँ हातको नाडी भाँचिएपछि शल्यक्रिया गराएका म्याक्सवेल अब पूर्ण रूपमा फिट भइसकेका छन्। अस्ट्रेलियन क्रिकेट बोर्डका अनुसार उनी भारतविरुद्धको ५ खेलमध्ये अन्तिम ३ खेलका लागि टोलीमा समावेश भएका हुन्।
म्याक्सवेलले उक्त चोट न्यूजिल्यान्डविरुद्धको टी–२० सिरिजअघि नेट अभ्यासका क्रममा व्याट्सम्यान मिचेल ओवेनको शक्तिशाली शटले हिर्किँदा पाएका थिए। चोटपछि उनले तुरुन्त घर फर्किएर उपचार प्रक्रिया अघि बढाएका थिए।
अस्ट्रेलियाले अक्टोबर २९ र ३१ मा हुने पहिलो दुई खेलमा म्याक्सवेललाई विश्राम दिएको छ। बाँकी खेलहरूमा भने उनी टोलीको मुख्य सदस्यका रूपमा खेल्नेछन्।
म्याक्सवेलको पुनरागमनले अस्ट्रेलियाको मिडल अर्डर र स्पिन विकल्पमा बल पुग्ने अपेक्षा गरिएको छ। भारत र अस्ट्रेलियाबीचको यो टी–२०आई शृङ्खला विश्वकप तयारीका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ।



Leave a Reply