मधेशका मुख्यमन्त्रीलाई विश्वासको मतमा रोक्ने दाउमा कांग्रेस–एमाले छठको रौनकसँगै मधेशमा राजनीतिक सरगर्मी, साना दल बने निर्णायक

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौ‌ं, कात्तिक ७ — छठ पर्वको माहोल बीच मधेश प्रदेशमा राजनीतिक तापक्रम पनि उक्लिएको छ। मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आगामी केही दिनभित्र विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाली कांग्रेस र नेकपा एमालेले उनलाई विश्वासको मतबाट रोक्ने रणनीति बनाएका छन्।

मुख्यमन्त्री सोनल गत असोज २९ गते नियुक्त भएका थिए। संविधानअनुसार उनलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसकै तयारीमा उनी जुटिरहेका छन् भने विपक्षी दलहरू सत्तापरिवर्तनका लागि साना दलहरूसँग सक्रिय छलफलमा छन्।

कांग्रेसकी सांसद अञ्जना पण्डितका अनुसार, अहिले दलहरूबीच भइरहेका संवादहरू स्वाभाविक हुन्। उनले भनिन्, “मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। त्यसका लागि दलहरूबीच संवाद हुनु सामान्य कुरा हो।”

सत्तापक्षको समीकरण

सोनल नेतृत्वको सरकारलाई हाल जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका छन्। यी पाँच दलका सांसद संख्या ५७ रहेको छ — जसपा १९, जनमत १३, माओवादी केन्द्र ९, लोसपा ९ र समाजवादी ७।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ मत आवश्यक पर्छ। तर जनमत पार्टीभित्रको विवादले सोनलको मत संख्या अस्थिर बनेको छ। जनमत पार्टीका दुई सांसद सतिश कुमार सिंह र त्रिभुवन साह जनस्वराज पार्टीमा सनाखत भइसकेका छन्। सर्वोच्च अदालतले भने निर्वाचन आयोगको विभाजनसम्बन्धी निर्णयमा अन्तरिम आदेश जारी गर्दै कात्तिक १७ गते छलफलको मिति तोकेको छ।

त्यसअघि जनस्वराज पार्टीलाई वैधानिकता नपाइरहेकाले ती सांसदहरूलाई जनमतकै ह्वीप लाग्नेछ। साथै जसपा नेपालका सांसद सरोज सिंह कुशवाह निलम्बित भएकाले विश्वासको मतमा सहभागी हुन पाउने छैनन्।

विपक्षीको गणित

सोनललाई समर्थन नगर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेपाल संघीय समाजवादी पार्टी छन्। यीमध्ये राप्रपा, नाउपा र संघीय समाजवादी पार्टीका एक–एक जना सांसद छन्। कांग्रेस र एमालेले यी साना दलका सांसदहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन्।

यदि जनमतभित्र विभाजनको असरले दुई सांसदले मत दिएनन् र अर्का एक जना अनुपस्थित भए, सोनलको मत संख्या ५४ भन्दा तल झर्नेछ — जसले विश्वासको मत असफल पार्न सक्छ। यही कारण मुख्यमन्त्री सोनल साना दलहरूसँग निरन्तर छलफलमा छन्।

मुख्यमन्त्री सोनलले भने विश्वासको मतमा कुनै समस्या नहुने दाबी गरेका छन्। “विश्वासको मतका लागि समस्या हुँदैन,” उनले अनलाइनखबरसँग भने।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले भने आफ्नो पार्टीले सरकार निर्माणमा अग्रणी भूमिका खेलेकाले विश्वासको मत दिलाउन पनि अग्रसर रहने बताए। “यो सरकार बनाउन हामीले पहल लिएका हौं। अब यसलाई सफल बनाउने जिम्मा पनि हामीले लिन्छौं,” सुमनको भनाइ छ।

Leave a comment