ब्रह्माकुमारी कलैया द्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

७ भाद्र,बारा: राजयोगिनी दादी प्रकाशमणिज्यीको १८औं पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको अवसरमा ब्रह्माकुमारी कलैयाले शनिबार एक भव्य र बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कलैया उपमहानगरपालिका लगायतका विभिन्न संघ–संस्था, शिक्षक, सामाजिक अभियन्ता, महिला समूह, युवा तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो। सो अवसरमा ७५ जना रक्तदाताले स्वेच्छाले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रममा राजयोग सेवा केन्द्रकी प्रमुख मीना दिदीको अध्यक्षता रहेको थियो। कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह प्रमुख अतिथि रहनु भएको थियो भने, कलैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, कलैया उपमहानगरपालिका–१ का अध्यक्ष मोहन बहादुर क्षेत्री, नेपाल शिक्षक संघ बारा का अध्यक्ष राजकिशोर सहनी लगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिती रहेको थियो।

अतिथिहरूले आफ्नो मन्तव्य राख्दै दादी प्रकाशमणिज्यीले जीवनभर मानव सेवा, भ्रातृत्व, सद्भाव र आत्मशुद्धिको मार्ग देखाएको स्मरण गरेका थिए। उनीहरूले स्मृति दिवसको अवसरमा आयोजना गरिएको रक्तदान अभियानले समाजमा मानवता, सहयोग र परोपकारको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विनोद साहले, रक्तदान जीवनदान हो भन्दै समाजमा यस्तो सकारात्मक गतिविधि निरन्तर आवश्यक रहेको बताए। उनले ब्रह्माकुमारी परिवारले गर्दै आएको आध्यात्मिक, सामाजिक र मानवतावादी क्रियाकलापले समाजमा ठूलो योगदान पुर्‍याइरहेको उल्लेख गरे।

त्यसैगरी अन्य वक्ताहरुले रक्तदान केवल स्वास्थ्यगत सहयोग नभई समाजमा सहकार्य र भ्रातृत्वको प्रतीक भएको जनाए।

Leave a Comment