काठमाडौं, कात्तिक ८ । स्थानीय प्रशासनको अनुमति बिना प्रदर्शन गर्न गएका ५० जनालाई प्रहरीले शनिबार काठमाडौँको माइतीघरबाट नियन्त्रणमा लिएको छ।
प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रशासनको अनुमति बिना प्रदर्शन गर्न खोजिएको र अन्य समूहबीच संभावित झडपको आशंका भएकाले सुरक्षाका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये २४ जना महिला र २६ जना पुरुष रहेको प्रहरीले जनाएको छ।
जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट प्रदर्शनका लागि अनुमति मागे पनि नपाएको दाबी गरे। उनले प्रहरी प्रशासनको कदमलाई लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरे।
‘हामी जेनजीहरूबीच एकता र सकारात्मक सोच फैलाउन प्रदर्शन गर्न निस्किएका थियौँ, तर हामीलाई रोकियो,’ कार्कीले भने।
प्रहरीले भने, माइतीघर क्षेत्रमा कुनै पनि प्रदर्शन गर्नुअघि प्रशासनको पूर्वस्वीकृति आवश्यक हुने बताएको छ।



Leave a Reply