मङ्गलबार, ११ कात्तिक २०८२
एजेन्सी,स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २–० गोलले पराजित गरेको छ।
सेभियास्थित स्टाडियो डी ला कार्टुजामा भएको खेलमा पाहुना टोली एट्लेटिकोले सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो। खेलको तेस्रो मिनेटमा जिआलिआनो सिमोनले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अलेक्स बेनाले अर्को गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे।
दोस्रो हाफमा दुवै टोलीले केही अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेनन्। पहिलो हाफमै गोलको आधारमा एट्लेटिकोले सहज जित हात पार्यो।
यो जितसँगै एट्लेटिको मड्रिडले १० खेलबाट १९ अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। पराजित रियल बेटिस १६ अंकका साथ छैटौँ स्थानमा झरेको छ।
सिजनको पहिलो खेलमा स्पान्योलसँग २–१ ले हार बेहोरेको एट्लेटिकोले त्यसपछि लगातार ९ खेलमा ५ जित र ४ बराबरीको नतिजा निकालेको छ।



Leave a Reply