अन्तिम ओभरसम्मको संघर्ष पनि पर्याप्त भएन, नेदरल्यान्ड्ससँग नेपाल २ रनले चुक्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ८ माघ २०८२ (बिहीबार) । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपालले पराजय बेहोरेको छ । रोमाञ्चक अन्त्य भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको हो ।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगरले प्रयास गरे पनि नेपालले १० रन मात्र जोड्न सक्यो ।

त्यसअघि २४ बलमा ४८ रन आवश्यक रहेको अवस्थामा रुबिना र सीताले संयमित ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म तानेका थिए । रुबिना क्षेत्रीले अविजित ३७ रन बनाइन् भने सीता राना मगरले अविजित २७ रनको योगदान दिइन् । बिन्दु रावलले १८ रन जोडिन् ।

बलिङतर्फ नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो । नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडेले सर्वाधिक ४९ रन बनाइन् भने स्टेर कालिसले ३० रन जोडिन् । रोबिन रिके १९ रनमा अविजित रहँदा आइरिस ज्विलिङले १४ रन बनाइन् ।

नेपालका लागि बलिङतर्फ रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान १–१ विकेट हात पारे ।

नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपाललाई विश्वकप यात्रामा दबाब बढेको छ ।

Leave a Comment