सर्वोच्चमा प्रधानमन्त्री नियुक्ति बदर र संसद् पुनःस्थापनासम्बन्धी १६ रिटको सुनुवाइ सुरु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बुधबार, १२ कात्तिक २०८२
काठमाडौँ — प्रधानमन्त्री नियुक्ति बदर र प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर १६ वटा रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबारदेखि सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले सुनुवाइ सुरु गरेको हो।

सर्वोच्चको एनेक्स भवनस्थित इजलासमा पहिलो बहस रिट निवेदक डा. प्रेमराज सिलवालले गरेका छन्। त्यसपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र शेरबहादुर केसी पनि बहसमा सहभागी भएका छन्।

सुनुवाइको प्रक्रिया अहिले पनि जारी छ।

गत भदौ २७ गते अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए। उक्त निर्णयविरुद्ध सर्वोच्चमा १६ वटा रिट दायर भएका छन्। ती सबै रिटमा प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्न तथा प्रतिनिधिसभा पुनःस्थापना गर्न परमादेश माग गरिएको छ।

रिट दर्ता गर्नेहरूमध्ये डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, दलबहादुर धामी, प्रकाश भुजेल, विपिन ढकाल, आभाष पोखरेल, ओमप्रकाशजङ्ग शाह, विमल पोखरेल र डा. पुण्यप्रसाद खतिवडालगायत रहेका छन्।

आजको इजलासले प्रारम्भिक बहस सुनेको र अर्को चरणको सुनुवाइका लागि मिति तोक्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

Leave a comment