विवाह पञ्चमी : बेहुलीझैँ चम्कियो जानकी मन्दिर, रातभर वैदिक विधिमा विवाहोत्सव

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

९ मंसिर, जनकपुरधाम ।
विवाह पञ्चमीको अवसरमा ऐतिहासिक जानकी मन्दिर बेहुलीझैँ सिंगारिएसँगै राम–जानकी विवाहोत्सवको मुख्य कार्यक्रम सुरु भएको छ। मिथिला परम्पराअनुसार वैदिक विधिमा चल्ने यो वैवाहिक समारोह आज रातिदेखि भोलिसम्म निरन्तर चल्नेछ।

साँझपख सुरु भएको विवाह कार्यक्रमले मन्दिर परिसरझैँ वरपरको क्षेत्र पनि उत्सवमय बनेको छ। सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्य दिन आज त्रेतायुगमा जस्तै राम र जानकीको दिव्य विवाहको पुनःअभिनय गरिने चलनअनुसार पूर्ण संस्कारसहित प्रक्रिया अघि बढाइएको हो।

यसअघि दिउँसो राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला झाँकी–कीर्तन, ढोल–पिपिही, सहनाई, पञ्चेबाजा र बैण्डबाजासहित निस्किएर बाह्रबिघा रंगभूमि मैदान पुगेका थिए। दुवै डोलाको भव्य स्वागतपछि बाह्रबिघा मैदानमा पारम्परिक विधिअनुसार स्वयम्बर सम्पन्न गरिएको थियो।

डोला र स्वयम्बरका दर्शनका लागि जानकी मन्दिरदेखि बाह्रबिघासम्म हजारौँ भक्तजनको भीड देखिन्थ्यो। स्वयम्बरको विशेष क्षणमा हेलिकप्टरबाट पुष्पवृष्टि गरी वातावरणलाई अझ भक्तिमय बनाइएको थियो।

रातभर चल्ने वैवाहिक कार्यक्रमले जनकपुरधाम पूर्ण रूपमा धार्मिक माहोलमा डुबेको छ।

Leave a comment