कात्तिक १७, २०८२ | काठमाडौं
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राख्दै गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको हो।
मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत सो निर्णयको जानकारी दिएका हुन्। उनले भने, “गृह मन्त्रालय अन्तर्गतको समिति, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अध्ययन प्रतिवेदनका आधारमा ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरिएको हो। अन्य घटनाहरूको थप अध्ययन हालका लागि गरिँदै छैन।”
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार ती शहीदहरूको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी दिएका छन्।
जेनजी आन्दोलन भदौ २३ र २४ गते विभिन्न शहरमा उग्र रूपमा फैलिएको थियो। आन्दोलनका क्रममा काठमाडौं, विराटनगर, पोखरा, जनकपुरलगायतका ठाउँमा प्रहरीसँगको झडपमा ठूलो संख्यामा जनहानि भएको थियो।
सरकारको यो निर्णयलाई आन्दोलनका सहभागीहरूले स्वागत गरे पनि, पीडित परिवारहरूले राहत, क्षतिपूर्ति र सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।



Leave a Reply