काठमाडौंमा जेनेरेसन जी (Gen Z) को प्रदर्शन हिंसात्मक  १७ जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२३ भदौ, काठमाडौं ।
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा काठमाडौंमा उत्रिएका जेनेरेसन जी (Gen Z) का प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडप हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूमध्ये थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या बढेको हो। प्राप्त विवरणअनुसार ट्रमा सेन्टरमा मात्रै ९ जनाको ज्यान गएको छ। त्यस्तै, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाले ज्यान गुमाएका छन्।

झडपका क्रममा दर्जनौँ प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको भन्दै मृतक संख्या अझै बढ्न सक्ने आशंका अस्पताल स्रोतले जनाएको छ।

सरकारले सामाजिक सञ्जाल फेसबुकलगायत अन्य प्लेटफर्ममा लगाएको प्रतिबन्धविरुद्ध प्रारम्भमा शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन क्रमशः हिंसात्मक बन्दा स्थिति नियन्त्रणबाहिर पुगेको हो।

यो घटनाले काठमाडौं मात्र नभई देशभर तनावपूर्ण वातावरण सिर्जना गरेको छ।

Leave a Comment