भर्जिनियामा डेमोक्र्याटकी अबीगेल स्पानबर्गर विजयी, पहिलो महिला गभर्नर बन्ने

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १९
अमेरिकी राज्य भर्जिनियामा डेमोक्र्याट पार्टीकी उम्मेदवार अबीगेल स्पानबर्गर गभर्नर पदमा निर्वाचित भएकी छन्। यससँगै उनी राज्यकी पहिलो महिला गभर्नर बन्ने भएकी छिन्।

पूर्व सीआईए अधिकारी समेत रहेकी स्पानबर्गरले रिपब्लिकन नेतृ विन्सम अर्ल–सियर्सलाई पराजित गरेकी हुन्। मंगलबार राति सम्पन्न मतगणनामा उनले स्पष्ट अग्रता कायम राख्दै जित सुनिश्चित गरेकी थिइन्।

तीनपटक अमेरिकी कांग्रेस सदस्य रहेकी स्पानबर्गर आगामी जनवरीमा पदभार ग्रहण गर्नेछिन्।

उनको प्रचार अभियान ट्रम्पविरोधी धारमा केन्द्रित थियो। उनले भर्जिनियालाई ट्रम्प प्रशासनका नीतिबाट जोगाउने प्रतिज्ञा गर्दै भनिन् —

“म वासिङटनबाट आउने अव्यवस्थाबीच पनि भर्जिनियाको पक्षमा दृढ रूपमा उभिनेछु।”

प्रतिस्पर्धी सियर्सले ट्रम्प समर्थक नेताका रूपमा चुनावी अभियान चलाए पनि पर्याप्त जनसमर्थन र वित्तीय सहयोग जुटाउन नसकेकी थिइन्।

राज्यको यस ऐतिहासिक जितसँगै डेमोक्र्याट पार्टीले भर्जिनियामा नयाँ राजनीतिक अध्याय सुरु गरेको बताइन्छ।

Leave a comment