अजरबैजान सीमानजिक टर्कीको सैन्य विमान दुर्घटना, २० जना सवार

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कात्तिक २६, काठमाडौं । अजरबैजानको सीमासँग नजिक जर्जियाको आकाशमा टर्कीको सैनिक मालवाहक विमान दुर्घटनाग्रस्त भएको छ। सी–१३० मोडलको उक्त विमानमा चालक दलसहित २० जना सैनिक सवार थिए।

टर्कीको रक्षा मन्त्रालयले मंगलबार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् विज्ञप्ति जारी गर्दै विमान अजरबैजानबाट टर्कीतर्फ फर्किने क्रममा दुर्घटनाग्रस्त भएको पुष्टि गरेको हो।

दुर्घटनामा कति जनाको मृत्यु वा घाइते भएको हो भन्नेबारे आधिकारिक पुष्टि नभए पनि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र अजरबैजानका उच्च अधिकारीहरूले केही जनाको मृत्यु भएको आशंका व्यक्त गरेका छन्।

टर्कीका टेलिभिजनहरूले प्रसारण गरेको भिडिओ फुटेजमा विमान घुम्दै तल झर्दै गरेको र सेतो धुवाँ उडिरहेको देखिएको छ।

जर्जियाका गृहमन्त्री अली येरलिकायाका अनुसार जर्जियाली सुरक्षाकर्मीहरू दुर्घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य अघि बढाइरहेका छन्। विमान जर्जियाको सिघनाघी नगरपालिका क्षेत्र नजिक खसेको बताइएको छ।

जर्जियाको गृह मन्त्रालयले पनि दुर्घटनाको पुष्टि गर्दै घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ। जर्जियाली विमान प्राधिकरणका अनुसार विमान देशको हवाई क्षेत्रमा प्रवेश गरेको केही मिनेटमै सम्पर्क विच्छेद भएको थियो, तर विमानबाट आपतकालीन सन्देश पठाइएको थियो।

Leave a comment