चिकित्सकका अनुसार ब्रेन स्ट्रोकपछि देखिने दीर्घकालीन असरका कारण उनको मृत्यु भएको हो
२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना भएका उनको गएराति साढे २ बजे काठमाडौं मेडिकल कलेज (केएमसी)मा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
केएमसीका व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार आलमलाई करिब दुई हप्ता अघि अस्पतालमा भर्ना गरिएको थियो। सिधै आईसीयूमा राखेर उपचार गरिएको थियो भने अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मिर्गौला फेल भएर निरन्तर डायलाइसिस भइरहेको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गरिएको थियो र पछि उनी भारतमा पनि उपचार गराउन गएका थिए। चिकित्सकका अनुसार सोही ब्रेन स्ट्रोकका दीर्घकालीन असरका कारण उनको मृत्यु भएको हो।
संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा संलग्नताका कारण आलम विवादित बनेका थिए। उक्त घटनामा घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाइएको अभियोगमा उनलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए।



Leave a Reply