मधेसमा नयाँ सरकार गठनको पहल तीव्र, कांग्रेससहित सात दलको संयुक्त आग्रह

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

आइतबार, २३ कात्तिक २०८२

मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन नेपाली कांग्रेससहित सात राजनीतिक दलले प्रदेश प्रमुखलाई संयुक्त मागपत्र बुझाएका छन्।

शनिबार मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि राजीनामा दिएपछि प्रदेश अब नेतृत्वविहीन बनेको छ। सो परिस्थितिमा सात दलले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका हुन्।

मागपत्रमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, माओवादी केन्द्रका भरतकुमार साह, जनमत पार्टीका महेशकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव, लोकन्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जैनुल राईन, नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहको हस्ताक्षर रहेको छ।

दलहरूले संविधानको मर्मअनुसार स्थिर र प्रभावकारी सरकार गठन गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह समेत गरेका छन्।

Leave a comment