मन्त्रिपरिषद् निर्णय : राष्ट्रपति पौडेल माघ १८ गते जापान जाँदै, प्रहरीको रासन १० प्रतिशतले बढ्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

चार वर्षपछि रासन वृद्धि, अन्डा–मासु–बिस्कुट थपिँदा प्रहरीको मनोबल उच्च

१६ माघ, काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गर्नुका साथै नेपाल प्रहरीको रासन स्केल र दैनिक रासन रकम वृद्धि गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई माघ १८ गतेदेखि २१ गतेसम्म जापान भ्रमणमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति जापान जान लागेका हुन्।

त्यसैगरी बैठकले आगामी १ फागुनदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम बढाउने निर्णय पनि गरेको छ। यस निर्णयबाट करिब ८० हजार प्रहरी कर्मचारी लाभान्वित हुनेछन्।

नेपाल प्रहरीका अनुसार हाल कायम रासन रकममा सरदर १० प्रतिशतले वृद्धि गरिएको हो। काठमाडौंमा कार्यरत एक प्रहरी कर्मचारीले हाल दैनिक २०१ रुपैयाँ २५ पैसा रासनबापत पाउँदै आएकोमा अब २२१ रुपैयाँ ९२ पैसा पाउनेछन्। झापामा यो रकम १८० रुपैयाँ ५५ पैसाबाट बढेर १९९ रुपैयाँ १० पैसा पुग्नेछ। सबैभन्दा बढी रासन रकम पाउने हुम्लाको उत्तरी भेगमा कार्यरत प्रहरीले अब दैनिक ९५२ रुपैयाँ ३६ पैसा पाउनेछन्।

रासन वृद्धि भौगोलिक अवस्थाअनुसार फरक–फरक दरमा लागू हुनेछ। हिमाली जिल्लामा महँगो हुने भएकाले त्यहाँ कार्यरत प्रहरीलाई बढी रासन रकम दिइने व्यवस्था यथावत् राखिएको छ।

रासन संरचनामा पनि महत्वपूर्ण सुधार गरिएको छ। अब नेपाल प्रहरीका कर्मचारीले दैनिक एउटा अन्डा, २५ ग्राम मासु र हाई–इनर्जी बिस्कुट रासनमा पाउनेछन्। यसअघि नेपाली सेना र सशस्त्र प्रहरी बलले पाउँदै आएका यी वस्तु नेपाल प्रहरीका लागि नयाँ थप हुन्। अब प्रहरीको रासनमा १९ प्रकारका सामग्री समावेश हुनेछन्।

नेपाल प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले चार वर्षपछि गरिएको रासन वृद्धि प्रहरीका लागि राहतको विषय भएको बताए। यसअघि २०७८ सालमा रासन १५ प्रतिशतले बढाइएको थियो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रासन वृद्धिलाई प्रहरीको मनोबल सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। ‘लामो समयदेखि उठ्दै आएको जायज माग सम्बोधन भएको छ। यसले न्याय, समानता र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने।

२४ घण्टा ड्युटीमा खटिनुपर्ने प्रहरीका लागि पर्याप्त पोषण आवश्यक रहेको भन्दै रासन वृद्धिको माग लामो समयदेखि उठ्दै आएको थियो। सरकारले सो माग सम्बोधन गरेपछि प्रहरी संगठनभित्र सकारात्मक सन्देश गएको छ।

आइजिपी दानबहादुर कार्की
आइजिपी दानबहादुर कार्की

Leave a Comment