मधेसमा ‘मध्यरातको नियुक्ति’: संवैधानिक विवाद र राजनीतिक अस्थिरताको नयाँ चरण

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

 


आइतबार, २४ कात्तिक २०८२ — जनकपुर

मधेस प्रदेशमा फेरि राजनीतिक अस्थिरता गहिरिँदै गएको छ। मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिई राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी (भण्डारी) ले नेपालको संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) का नेता सरोज यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेकी छन्।

तर, यो नियुक्तिलाई लिएर गम्भीर संवैधानिक र नैतिक प्रश्न उठेका छन्। विपक्षी दलहरूले प्रदेश प्रमुखले “बिरामीको उपचार गराउने बहानामा” सिन्धुलीस्थित एक होटलमा गएर राति गोप्य रूपमा शपथ ग्रहण गराएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, यस्तो कार्यले संवैधानिक परम्परा र राजनीतिक आचारसंहिताको उल्लङ्घन गरेको छ।

अब मुख्यमन्त्री यादवका अगाडि एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने चुनौती छ। त्यसअघि असन्तुष्ट दल र समूहहरूलाई आफ्नो पक्षमा पार्नुपर्नेछ। सफल नभए फेरि सरकार ढल्ने र मधेसमा सत्ताको खिचातानी दोहोरिने संकेत देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, “यो विवादले प्रदेशको सुशासन, नीति–निर्णय र विकासका कामहरूलाई फेरि पछाडि धकेल्ने खतरा बढाएको छ।”

Leave a comment