१८ मंसिर ,काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमा अर्थात् मंसिरे पूर्णिमा आज देशका विभिन्न समुदायले आफ्नै सांस्कृतिक विधिअनुसार मनाइरहेका छन्। सनातन समुदायमा धानलाई लक्ष्मी र समृद्धिको प्रतीक मानेर पूजा गर्ने ‘पर्वधवन्य पूर्णिमा’ का रूपमा यो दिनको महत्त्व रहिआएको छ।
धेरै ठाउँमा भकारीमा धानको पर्वत बनाई पूजा गर्दा धनधान्य वृद्धि हुने विश्वास छ। नयाँ अन्न देवता, कुलदेवता र पितृलाई चढाएर मात्र खाने पुरानो परम्परा आज पनि कायम छ। पहाडी भेगमा गोठपूजा (गोठधुप) गरी गोठ सफा गर्ने र गाई–वस्तुको पूजा गर्ने चलन प्रचलित छ।
कुलदेवताका रूपमा देवाली पूजाको परम्परा पनि आजकै दिन मनाइन्छ, जसअन्तर्गत नयाँ धानबाट बनाइने खीर, बाबर, पुवा आदि चढाइन्छ। कतिपय ठाउँमा पशुबलिको चलन पनि छ।
नेवार समुदायमा मंसिरे पूर्णिमालाई ‘थिन्ला पुन्हि’ वा ‘योमरी पुन्हि’ को रूपमा विशेष मनाइन्छ। घर–आँगन शुद्ध पारेर बनाइने योमरी लक्ष्मी, गणेश, कुमार र कुवेरलाई चढाएर मात्र खाने परम्परा छ। धानको भकारीमाथि देवी–देवताका प्रतीक राखेर पूजा गर्ने प्रथा नेवार संस्कृतिमा महत्वपूर्ण मानिन्छ।
लिम्बू समुदायले बाली भित्र्याएपछि मनाइने ‘न्वागी’ पर्वका रूपमा आजको दिन उत्सव मनाउँछन्। किरात समुदायका विभिन्न समूहले प्रकृति, पितृ र कुलदेवताप्रति कृतज्ञता व्यक्त गर्दै ‘उधौली’ पर्व मनाइरहेका छन्, जसलाई उनीहरूको मुख्य चाड मानिन्छ।
यसैगरी लिम्बूहरूको चासोक तङनाम, राईहरूको साकेला, याख्खाहरूको चासुवा र सुनुवारहरूको फोलष्याँदर पनि आजकै दिन मनाइने पर्व हुन्। गुरुङ समुदायले सिमेभूमि पूजा र न्वागी मनाउँछ भने पूर्वका थारू समुदायले नेमान गर्ने, आँगनको ध्वजा फेर्ने र छोराको ‘वर्तमन’ गर्ने परम्परा पालना गर्छन्।


