२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका सबै तयारी पूरा भएको क्यानले जनाएको छ । मंसिर १ गतेबाट सुरु हुने प्रतियोगिताबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली क्रिकेट संघ (क्यान)ले आवश्यक सबै पूर्वाधार र व्यवस्थापन तयारी सम्पन्न भएको जानकारी दिएको हो ।
यसपटक पहिलोपटक एनपीएलका खेल फ्लडलाइटअन्तर्गत डे–नाइट मोडमा खेलाइनेछन् । ‘पहिलो संस्करण भव्य थियो, दोस्रो संस्करणलाई अझ भव्य बनाउन डे–नाइट म्याच थपिएको हो,’ क्यानका सचिव पारस खड्काले भने ।
सचिव खड्काका अनुसार दोस्रो संस्करणमा पनि पुरस्कार राशिमा परिवर्तन गरिएको छैन । पहिलो संस्करणमा जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँसहित उपाधि जितेको थियो । उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख प्राप्त गरेका थिए ।
आर्थिक पक्षबारे जानकारी देँदै क्यानका कोषाध्यक्ष पदम खड्काले करिब १५ देखि ३० करोड रुपैयाँ प्रायोजकमार्फत आउने अपेक्षा गरिएको बताए । ‘टिम ओनरबाट मात्रै ९ करोड प्राप्त हुँदैछ,’ उनले भने, ‘यसपटक डिजिटल प्लाटफर्म ओटीटी पनि ल्याइएको छ । डिसहोम गोसँग ५ करोड ३० लाखमा बिड भएको छ, जसअनुसार उठेको रकममध्ये ७१ प्रतिशत क्यान र २९ प्रतिशत डिसहोमको रहनेछ ।’
उनका अनुसार लिनेअर टिभी प्रसारण अधिकारको पनि आज फाइनल भएको छ, जसको न्यूनतम मूल्य एक करोड रुपैयाँ तोकिएको छ । टिकट बिक्रीबाट मात्रै ८ देखि १२ करोड रुपैयाँसम्म संकलन हुने अनुमान क्यानले गरेको छ ।



Leave a Reply