प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको शक्ति प्रदर्शन, हजारौंको सहभागिता

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२९ कार्तिक, बारा ।
संविधानको रक्षा, प्रतिगामी शक्ति र बढ्दो राजनीतिक अराजकताको विरोध गर्दै नेकपा एमाले बाराले आज कलैयामा विशाल जनसभा तथा जनप्रदर्शन गरेको छ।

केन्द्रीय निर्देशनअनुसार नेपालका सबै जिल्ला सदरमुकामहरूमा भइरहेको कार्यक्रममा सरोकार पुर्‍याउँदै बारामा पनि सदरमुकाम कलैयामा हजारौं कार्यकर्ता र स्थानीयवासीको सहभागितासहित शक्ति प्रदर्शन गरिएको हो।
एमालेले मुलुकमा संविधानविरोधी गतिविधि बढ्दै गएको र राजनीतिक अस्थिरता गहिरिँदै गएको आरोप लगाउँदै देशभर विरोध कार्यक्रम सञ्चालन गरिरहेको छ।

जनसभामा जिल्ला र केन्द्रका नेताहरूको उल्लेखनीय उपस्थिति थियो। एमाले बारा सचिव अमृत शर्मा बजगाईँका अनुसार कार्यक्रममा ज्वाला साह, पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बलबिर चौधरी, किसान श्रेष्ठ, एकबाल मिया, मन्जु थापा मगर, सरस्वती चौधरी, सीता सुवेदी र मो. समीर लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बाराका विभिन्न क्षेत्रबाट जुलुसका रूपमा कलैया पुगेका कार्यकर्ता तथा भेला सहभागीहरूले संविधान र लोकतान्त्रिक स्थायित्वको पक्षमा नाराबाजी गरेका थिए। कार्यक्रम जारी रहेको र अन्त्यतर्फ नेताहरूले सरकार, सत्ता गठबन्धन र विभिन्न राजनीतिक घटनाक्रमबारे कडा संदेश दिने तयारी रहेको आयोजकले जनाएको छ।

Leave a comment