सोमबार, १ मंसिर २०८२-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न वर्तमान राजनीतिक अवस्थाको निकास निर्वाचनमार्फत खोजिनु नै उपयुक्त हुने धारणा राखेकी छन्।
बालुवाटारस्थित आफ्नो निवासमा सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भेटवार्ता क्रममा पूर्व राष्ट्रपति भण्डारीले सरकारलाई समयमै निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न सुझाव दिइन्।
उनका अनुसार सबै राजनीतिक दलहरूको सहभागितासहितको चुनाव नै लोकतान्त्रिक अभ्यास र स्थिरताको प्रमुख माध्यम हो।
‘अहिलेको समस्याबाट अघि बढ्ने सही बाटो निर्वाचन नै हो,’ भण्डारीले भनिन्, ‘सरकारले समावेशी र सहज वातावरण तयार गर्नुपर्छ।’
भेटमा मुलुकको समसामयिक राजनीतिक स्थिति, आगामी निर्वाचनको तयारी र सरकारका प्राथमिकता विषयमा छलफल भएको बताइएको छ।
मन्त्री खरेलले सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षादेखि प्राविधिक तयारीसम्मका प्रक्रिया अगाडि बढाइरहेको जानकारी पूर्व राष्ट्रपति भण्डारीलाई गराए। उनका अनुसार अधिकांश दलहरू चुनावप्रति सकारात्मक रहेका छन्, भने केहीले शान्ति–सुरक्षाबारे चासो व्यक्त गरेपछि सरकार तदनुसार कदम चाल्ने तयारीमा छ।
जेनजी आन्दोलनको आधारमा गठन भएको वर्तमान सरकारले निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नवप्रवर्तनलाई प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री खरेलको भनाइ छ।
आगामी फागुन २१ गते तय भएको निर्वाचनको वातावरण बनाउन सरकार विभिन्न पक्षहरूसँग संवादमा जुटिरहेको र सोही क्रममा मन्त्री खरेलले पूर्व राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको मन्त्रालयले जनाएको छ।



Leave a Reply