ढाका, बङ्गलादेश – २०८२ मंसिर ३, मंगलबार
गत वर्ष विद्यार्थी विद्रोहमाथि गरिएको दमनका आरोपमा अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सुनाइएपछि पनि बङ्गलादेशको राजधानी ढाका तथा प्रमुख सहरहरू मङ्गलबार सामान्य अवस्थामा देखिए। पूर्व सत्तारूढ अवामी लिगले देशव्यापी बन्दको आह्वान गरे पनि यातायात, विद्यालय र बजारहरू नियमित रूपमा सञ्चालनमा रहे।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले विद्यार्थी आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको आरोपमा हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खानलाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो। फैसलापछि अवामी लिगले अदालतलाई ‘कङ्गारू अदालत’ भन्दै अस्वीकार गरेको र बन्दको घोषणा गरेको थियो।
सोमबार राजधानीका विभिन्न भागमा विरोधी समूह र सुरक्षाकर्मीबीच झडप भएका थिए। विरोधीहरूले शेख मुजीबुर रहमानको ऐतिहासिक निवास भत्काउने प्रयाससमेत गरेको बताइयो। त्यही दिन पूर्व राष्ट्रपति अब्दुल हमिदको किशोरगञ्जस्थित घरमा तोडफोड भएको पनि रिपोर्ट गरिएको थियो।
तर मङ्गलबार ढाकामा शान्त वातावरण देखियो। स्थानीय व्यापारी मोहम्मद साइकोट हुसेनले मुलुकमा कानूनको शासन कमजोर भएको भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार राजनीतिक अस्थिरताले नयाँ पुस्ताको भविष्य अनिश्चित बन्दै गएको छ।
७८ वर्षीया हसिनालाई मानवता विरुद्धका पाँच अभियोगमा दोषी ठहर गरिएको हो। उनीमाथि विद्यार्थी प्रदर्शनकारी विरुद्ध हेलिकप्टर, ड्रोन र घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ।
बङ्गलादेशमा २०२४ को जुलाई–अगस्टमा सरकारी जागिरको कोटा प्रणालीविरुद्ध व्यापक विद्यार्थी आन्दोलन भएको थियो। अन्तरिम सरकारले ती आन्दोलनहरूमा ८०० भन्दा बढी व्यक्तिको मृत्यु र १४ हजार घाइते भएको दाबी गरेको छ।
२०२४ अगस्ट ५ मा भएको विद्रोहपछि हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको थियो। उनी र खान भारत भागेका थिए। सजाय सुनाइएपछि ३० दिनभित्र आत्मसमर्पण नगरेसम्म वा पक्राउ नपरेसम्म अपील गर्न नपाइने नियम छ।
हसिनाले विज्ञप्तिमार्फत आफूविरुद्धका अभियोग ‘अन्यायपूर्ण’ भएको दाबी गर्दै घटनालाई पूर्वनियोजित आक्रमणका रूपमा चित्रण गर्नु तथ्यको ‘गलत व्याख्या’ भएको प्रतिक्रिया दिएकी छन्।
संयुक्त राष्ट्रसङ्घले यो फैसला विद्यार्थी आन्दोलनका पीडितहरूको दृष्टिमा ‘महत्त्वपूर्ण क्षण’ भएको उल्लेख गरेको छ। तर ह्युमन राइट्स वाचले परीक्षणको निष्पक्षताप्रति शंका व्यक्त गरेको छ। एम्नेस्टी इन्टरनेशनलले पनि मृत्युदण्डको कडा आलोचना गर्दै प्रक्रिया न त स्वतन्त्र, न त निष्पक्ष रहेको टिप्पणी गरेको छ।
अपदस्थ हसिनापछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका छन्। मुलुक फेब्रुअरीमा निर्वाचनको तयारीमा भए पनि राजनीतिक स्थिरता कायम राख्न चुनौतीहरू छन्।



Leave a Reply