३ मंसिर,जनकपुर
मधेश प्रदेशसभा बैठकले सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपसहित दर्ता गरिएको प्रस्ताव दुवै तिहाइ बहुमतले पारित गर्दै उनको पद अन्त्य गरेको छ।
मंसिर ३ गते बसेको प्रदेशसभाको बैठकमा प्रस्तावमाथि विस्तृत छलफलपछि मत विभाजन गरियो। उपसभामुख बबिताकुमार राउत ईशरले भएको मतदानको परिणाम घोषणा गर्दै ७८ मध्ये ७६ मत सभामुखको पदमुक्तिको पक्षमा परेको जानकारी दिइन्।
गत २७ कात्तिकमा सात दलसमेत समावेश गठबन्धनका ६४ प्रदेशसभा सदस्यहरूले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै प्रस्ताव दर्ता गराएका थिए। उपसभामुख ईशरले आजको बैठकलाई सो प्रस्ताव छलफलका लागि बोलाएकी थिइन्।
छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रस्ताव बैठकमा पेश गरेका थिए। त्यसपछि लोसपाका उपेन्द्र महतो, जसपा नेपालका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी जीवछीदेवी यादव, एकीकृत समाजवादीका गणेश पटेल र प्रमोद यादवलगायत सांसदहरूले आफ्नो धारणा राखे।
मत विभाजनपछि प्रस्ताव पारित भएसँगै मण्डल आधिकारिक रूपमा पदमुक्त भएका छन्।
यद्यपि, नेकपा एमालेका एक सांसद प्रारम्भिक बैठकमा उपस्थित रहे पनि, बैठक स्थगनपछि पुनः सुरु हुँदा कुनै एमाले सांसद उपस्थित थिएनन्।



Leave a Reply