सिमरा घटनापछि सचिव योगेश भट्टराईको आग्रह : ‘मधेसमा पार्टी किन कमजोर बन्यो, गम्भीर समीक्षा चाहिन्छ’

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

मंसिर ४, काठमाडौँ — बाराको सिमरामा बुधबार भएको झडपपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसमा पार्टीको कमजोर अवस्थाबारे तत्काल गम्भीर समीक्षा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अपिल गरेका छन्।

महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सहभागी हुने कार्यक्रमका क्रममा सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो। सो घटनापछि भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै मधेसमा पार्टी निरन्तर कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसको कारण स्पष्ट खोजिनु पर्ने बताए।

भट्टराईका अनुसार मधेस प्रदेशको राजनीतिक तथा संस्थागत मोर्चामा एमालेले पछिल्लो समय ठूला धक्का व्यहोर्नुपरेको छ।
“प्रदेश प्रमुखको बर्खास्ती, सभामुख पदमुक्ति, मुख्यमन्त्री अदालतको कठघरामा, राजनीतिक रूपमा पार्टी एक्लिँदै—यी सबै गम्भीर संकेत हुन्,” उनले भने, “पार्टीभित्र अन्तरविरोध बढ्दैछ। यसको जड के हो, किन भयो, को–को जिम्मेवार छन् भन्नेबारे खुला र निडर समीक्षा आवश्यक छ।”

‘मधेसमा अध्यक्ष ओलीको मेहनतमाथि खेलबाड भयो’

विज्ञप्तिमा भट्टराईले मधेसमा एमाले एक समय बलियो हुँदा त्यसको मुख्य श्रेय अध्यक्ष ओलीको संगठन व्यवस्थापन, नेतृत्व शैली र संयोजन क्षमतालाई जाने पनि स्मरण गराएका छन्।
तर पछिल्ला वर्षमा सो मेहनतमाथि ‘खेलबाड’ गरिएजस्तो महसुस भएको भन्दै उनले यसका कारण पहिचान गर्न आग्रह गरे।

संगठन, जनआधार र सामाजिक छविको पुनर्समीक्षा माग

अध्यक्ष ओलीका प्रतिवेदनमा स्वयं मधेसमा संगठन विस्तार, अधिवेशन व्यवस्थापन तथा सदस्यता प्रणालीमा प्रगति भएको उल्लेख भए पनि अहिलेको अवस्थाले त्यो उपलब्धि जोगिन नसकेको भट्टराईको तर्क छ।

“मधेसमा जनआधार विस्तार, सामाजिक छवि सुधार र आन्तरिक एकता मजबुत बनाउन नयाँ जिम्मेवारीसहित अघि बढ्न आवश्यक छ,” भट्टराईले भने, “यसका लागि अध्यक्ष कमरेडले गम्भीरतापूर्वक विचार गर्नुपर्छ।”

२०७२ को संविधान जारी भएपछि केही वर्ष मधेस एमालेका लागि चुनौतीपूर्ण रहे पनि पछिल्ला निर्वाचनमा पार्टीले उल्लेख्य वृद्धि गरेको भट्टराईले स्मरण गराएका छन्। तर हाल मधेसमा अर्को राजनीतिक संकट बढ्दै गएका कारण पार्टीलाई समग्र समीक्षा आवश्यक भएको उनको भनाइ छ।

Leave a comment