मोबाइलदेखि डेस्कटपसम्म ‘ब्ल्याक स्क्रिन’ समस्या; कम्पनीले कारण नखुलाउँदै समाधान प्रयास जारी
६ फागुन ,काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म सेवा नेपालसहित विभिन्न देशमा एक्कासि अवरुद्ध हुँदा लाखौँ प्रयोगकर्ताले सामग्री हेर्न र अपलोड गर्न सकेनन्। मंगलबार रातिदेखि सुरु भएको अवरोधले मोबाइल एप र वेबसाइट दुवै माध्यम प्रभावित भएको प्रयोगकर्ताहरूले बताएका छन्।
अनलाइन सेवा निगरानी साइट का अनुसार समस्या सुरु भएको केही समयमै करिब २ लाख ८० हजारभन्दा बढी गुनासा दर्ता भएका थिए। युट्युबको प्रिमियम स्ट्रिमिङ सेवा YouTube TVसमेत प्रभावित हुँदा थप हजारौँ प्रयोगकर्ताले सेवा नचलेको रिपोर्ट गरेका छन्।
अमेरिकाका न्युयोर्क, वासिङ्टन, सिकागो र लस एन्जलसजस्ता ठूला सहरमा अवरोधको असर बढी देखिए पनि समस्या विश्वव्यापी रूपमा फैलिएको बताइएको छ। सेवा अवरुद्ध भएपछि युट्युबले आधिकारिक वक्तव्य जारी गर्दै समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको जनाएको छ, तर अवरोधको कारण खुलाइएको छैन।
प्रयोगकर्ताहरूले एप खोल्दा ‘ब्ल्याक स्क्रिन’ देखिने वा ‘Something went wrong’ सन्देश आउने समस्या साझा गरेका छन्। केहीले सामाजिक सञ्जालमा ठट्टा गर्दै युट्युब नचल्दा दैनिक जीवन नै प्रभावित भएको प्रतिक्रिया दिएका छन्।
उक्त समयावधिमा (पूर्व ट्विटर) सेवा पनि अमेरिकाका केही क्षेत्रमा प्रभावित भएको खबर आएको थियो।
प्राविधिक विज्ञहरूका अनुसार यस्ता व्यापक अवरोध सामान्यतया सर्भर वा नेटवर्क पूर्वाधारमा समस्या आउँदा देखिने गर्छ। त्यसैले प्रयोगकर्ताले क्यास–कुकिज सफा गर्ने वा एप अपडेट गर्ने प्रयास गरे पनि तत्काल समाधान सम्भव नहुने अवस्था रहन्छ। हाल कम्पनीले सेवा पूर्ण रूपमा पुनःस्थापित गर्ने काम गरिरहेको जनाएको छ।

