काठमाडौँ उपत्यकामा चोरी भएका ५१ मोटरसाइकल–स्कुटर धनीलाई फिर्ता

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, २०८२ मंसिर ४
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा दुई–पांग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ। आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ३३ मोटरसाइकल र १८ स्कुटर धनीलाई संयुक्त रूपमा बुझाए।

ट्राफिक प्रहरीका अनुसार प्राप्त निवेदनका आधारमा गरिएको खोजतलासका क्रममा कतिपय सवारीसाधन वास्तविक नम्बर प्लेटमै भेटिएको थियो भने केहीमा नक्कली नम्बर प्लेट लगाइएका थिए। गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभुलगायत स्थानबाट ती सवारीसाधन बरामद गरिएको थियो।

साउन महिनादेखि अहिलेसम्म ट्राफिक प्रहरीले फेला पारेका सवारीसाधनमध्ये आजका ५१ सहित ९१ वटा सवारी धनीलाई जिम्मा लगाइसकेको छ। यस अवधिमा चोरीका ९ दुई–पांग्रे सवारीसाधनसहित चोरीमा संलग्न १९ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।

आर्थिक वर्ष २०८०/८१ मा ४१७ र २०८१/८२ मा ५०३ दुई–पांग्रे सवारी फेला पारी धनीलाई बुझाइएको ट्राफिक प्रहरीको तथ्यांक छ।

सवारी साधन चोरी तथा हराउने घटनाबाट जोगिन सुरक्षित स्थानमा पार्क गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरनजस्ता उपकरण प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सर्वसाधारणलाई आग्रह गरेका छन्। सवारी हराएमा ट्राफिक प्रहरीको १०३ वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न अथवा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने उनले बताए।

Leave a comment