निर्वाचन तयारी : प्रधानमन्त्री कार्की शीर्ष नेताहरूसँग छलफल गर्न जुट्दै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

८ मंसिर, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन विभिन्न दलका शीर्ष नेताहरूसँग संवाद थाल्ने तयारी गरिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार दलका दोस्रो तहका नेता तथा नागरिक समाजका केही व्यक्तिहरूले शीर्ष नेताहरू र प्रधानमन्त्रीबीचको औपचारिक भेटवार्ताका लागि पहल गरिरहेका छन्। त्यसैको आधारमा सम्बन्धित दलका शीर्षस्थ नेताहरूसँग समन्वय तथा छलफलको प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

तर, अहिलेका लागि कुन–कुन दलका नेताहरूलाई छलफलका लागि प्रस्ताव गरिएको छ भन्ने विवरण सार्वजनिक गरिएको छैन। ‘एकै ठाउँमा सामूहिक भेट वार्ता गर्ने कि अलग–अलग भेट्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ,’ प्रधानमन्त्री कार्यालय नजिकको एक स्रोतले भन्यो।

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले यही साताभित्रै शीर्ष नेताहरूलाई छलफलका लागि औपचारिक निमन्त्रणा पठाउन सक्ने सम्भावना छ। मिति भने अन्तिम रूपमा तय भइसकेको छैन।

Leave a comment