२० मंसिरदेखि समानुपातिक निर्वाचन कार्यक्रम सुरु, दर्ता दलको संख्या १३२ पुगेको आयोगको जानकारी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

८ मंसिर, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र बन्दै जाँदा समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम यही २० मंसिरदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार २१ मंसिर बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूले निवेदन पेश गर्न सक्नेछन्। पेश भएका दलहरूको नामावली २४ मंसिरमा प्रकाशित गरिनेछ।

समानुपातिकतर्फ १३ र १४ पुसमा दलहरूले उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम छ भने २० माघमा बन्दसूचीको अन्तिम प्रकाशन हुनेछ। त्यस्तै, प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार ६ माघमा मनोनयन दर्ता, ७ माघमा उजुरी, ८ माघमा छानबिन, र ९ माघमा नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन तोकिएको छ।

यसैबीच, प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दर्ता दलको संख्या १३२ पुगेको आयोगले जनाएको छ। पछिल्लो रूपमा ‘हाम्रो पार्टी नेपाल’ले दल दर्ताको प्रमाणपत्र पाएपछि संख्या १३२ पुगेको हो। प्रतिनिधिसभा निर्वाचनको मिति २१ फागुन तय गरिएको छ। मिति घोषणा (२७ भदौ) पछि मात्रै १३ नयाँ दल दर्ता भएका छन्।

आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्न ५६ दलले हालसम्म निर्वाचन प्रयोजनका लागि दर्ता गराइसकेका छन्। निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय १० मंसिरसम्म तोकिएको छ।

Leave a comment