नेपाल कहिल्यै उपनिवेश नबन्नु गौरवको विषय : अमेरिकी उपविदेशमन्त्री सारा रोजर्स

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स ले नेपाललाई अमेरिकाको महत्त्वपूर्ण र विश्वासिलो साझेदार देशको रूपमा वर्णन गरेकी छन्। तीन दिने नेपाल भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको इतिहास, लोकतन्त्र, प्रविधि विकास र अभिव्यक्ति स्वतन्त्रताबारे खुलेर प्रशंसा गरिन्।
सारा रोजर्सले नेपाल कहिल्यै विदेशी शक्तिको उपनिवेश नबन्नु आफूलाई अत्यन्त रोचक लागेको बताइन्। पाटन दरबार क्षेत्रको भ्रमणपछि उनले भनिन्, “महान सभ्यताहरूको बीचमा रहँदा पनि नेपाल कसैबाट पराजित नभई आफ्नो स्वतन्त्र पहिचान जोगाउन सफल भयो, यो साँच्चै विशेष कुरा हो।”
ठट्टाकै शैलीमा उनले नेपाललाई “दुई ढुंगाबीचको तरुल” भन्दा पनि संसारभर चर्चित “गोलभेँडा” जस्तै देश भएको टिप्पणी समेत गरिन्।
उनले अमेरिका अब वैदेशिक सहायता मात्र नभई व्यापार, लगानी र प्रविधि साझेदारीमा केन्द्रित भएको उल्लेख गरिन्। नेपालमा कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर र डिजिटल पूर्वाधार विकासको ठूलो सम्भावना रहेको भन्दै अमेरिकी लगानीका लागि अनुकूल वातावरण आवश्यक रहेको बताइन्।
स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक सम्बन्धी प्रश्नमा उनले नेपाल सरकारको निर्णय र प्रक्रियाको सम्मान गर्ने बताइन्। नेपालमा इन्टरनेट पहुँच अझ विस्तार भएको अमेरिका हेर्न चाहेको उनको भनाइ थियो।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई नेपालको ऊर्जा र आर्थिक विकासका लागि महत्त्वपूर्ण साझेदारीको रूपमा चित्रण गर्दै उनले यसको सफल कार्यान्वयनप्रति अमेरिका आशावादी रहेको बताइन्।
सामाजिक सञ्जाल नियमन र इन्टरनेट स्वतन्त्रताबारे बोल्दै सारा रोजर्सले सरकारले नागरिकलाई “के सोच्ने र के हेर्ने” भन्ने नियन्त्रण गर्न नहुने धारणा राखिन्। उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान आवश्यक रहेको बताउँदै खराब प्रचार रोक्ने नाममा सेन्सरसिप गर्न नहुने स्पष्ट पारिन्।
नेपालमा अमेरिका, चीन र भारतबीचको भूराजनीतिक प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा उनले अमेरिकाको ध्यान केवल नेपाल–अमेरिका सम्बन्धलाई अझ बलियो बनाउनेतर्फ केन्द्रित रहेको बताइन्।
भ्रमणका क्रममा उनले पाटन दरबार क्षेत्रमा अमेरिकी सहयोगमा भइरहेको सम्पदा पुनर्निर्माण कार्यको अवलोकन पनि गरेकी थिइन्। नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७९ वर्ष पूरा भएको उल्लेख गर्दै उनले आगामी वर्ष मनाइने ८०औँ वार्षिकोत्सवले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।

Leave a Comment