मधेशका किसानलाई प्रतिकठ्ठा १५००, बेरोजगार युवालाई मासिक २ हजार भत्ता

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१० मंसिर, जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानका कारण धानबालीमा भएको क्षतिप्रति राहतस्वरूप किसानलाई प्रतिकठ्ठा १५०० रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । यसका लागि करिब ३६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सोहीसँगै प्रदेशमा १८ देखि ३५ वर्ष उमेरसमूहका स्नातक पास तर रोजगारी नभएका युवालाई मासिक २ हजार रुपैयाँ बेरोजगार भत्ता उपलब्ध गराउने तयारी प्रदेश सरकारको छ । यस शीर्षकमा करिब ३५ करोड खर्च हुने अनुमान गरिएको मुख्यमन्त्री सरोज कुमार यादवले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

उनका अनुसार लामो खडेरी र असोजको अविरल वर्षाका कारण धानबालीमा दोहोरो मार परेपछि किसानलाई तत्काल राहत आवश्यक देखिएको हो। मनसुन अवधिमै खडेरी परेको भन्दै प्रदेश सरकारले यसअघि मधेशका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

मुख्यमन्त्री यादवले बेरोजगार भत्ताका लागि करिब १ लाख ४८ हजार युवाले दाबी गर्न सक्ने अनुमान गर्दै आवश्यक प्रक्रिया अघि बढाइरहेको बताए।

Leave a comment