श्रीलंकामा भीषण बाढी–पहिरो : ५६ जनाको मृत्यु, २१ अझै बेपत्ता

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मंसिर १२, २०८२ | शुक्रबार
काठमाडौँ

श्रीलंकामा यसै हप्ताको लगातार भारी वर्षापछि आएको बाढी र पहिरोमा कम्तिमा ५६ जनाको ज्यान गएको छ भने २१ जना अझै बेपत्ता रहेका छन्।

विपद् व्यवस्थापन केन्द्र (DMC) का अनुसार चिया बगान क्षेत्रका रूपमा परिचित बदुल्ला जिल्लामा राति गएको ठूलो पहिरोमा मात्रै २१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा बाढीका प्रचण्ड भेलाले घर–परिवारै बगाइरहेको स्पष्ट देखिन्छ। प्रभावित बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्दै अस्थायी आश्रय केन्द्रहरू स्थापना गरिएको अधिकारीहरूले जनाएका छन्।

यता, श्रीलंकामा चक्रवात ‘दिटवाहा’ पूर्वी तट नजिक आइपुग्ने अनुमानपछि उद्धार तथा तयारी कार्य थप तीव्र बनाइएको छ। दिटवाहा सुरुमा पूर्वी तट नजिकै गहिरो डिप्रेसनका रूपमा देखिए पनि केही घण्टामै तीव्र बनेर चक्रवातमा परिणत भएको हो।

बढ्दो जोखिमले गर्दा स्थानीय प्रशासनले समुद्र तट क्षेत्र, नदी किनार र पहाडी बस्तीहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a comment