काठमाडौं – ४ असोज ।
हमासको सशस्त्र समूह ‘कस्साम ब्रिगेड्स’ले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । उक्त तस्वीरमा नेपालका विपिन जोशीको पनि अनुहार देखिएको छ।
सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहर ध्वस्त पार्ने र नियन्त्रणमा लिने सैन्य अभियान चलाइरहेका बेला हमासले यो तस्वीर बाहिर ल्याएको हो। ‘बिदाइ तस्वीर’ भनिए पनि ती बन्दीहरूको वास्तविक अवस्थाबारे केही जानकारी दिइएको छैन।
कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा पोस्ट गरेको संकलित तस्वीरमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ। सबैलाई ‘रोन अराड’ नामक क्याप्सनमा राखिएको छ, जसले सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेनलाई जनाउँछ।
हमासले सार्वजनिक गरेको फोटोसँगै ‘नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाई तस्वीर हो’ भन्ने टिप्पणी गरिएको छ। यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँग सम्झौता नगर्ने अडान र सेनाप्रमुख एयाल जामिरले सरकारको ‘गाजा सिटी विजय योजना’बारे राखेको असहमतिको प्रसङ्गलाई पनि जोड्छ।
इजरायली अधिकारीहरूले अझै करिब २० बन्दी जीवित रहेको विश्वास व्यक्त गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन्। इजरायल र अमेरिकाले जीवित तथा मृत सबै बन्दीलाई फर्काउने र हमासलाई पराजित गर्ने दाबी गर्दै आएका छन्।
हमासले भने इजरायली स्थल तथा हवाई आक्रमणका कारण केही बन्दीहरू पहिले नै मारिएका दाबी गर्दै बाँकीलाई विभिन्न टोल–छिमेकमा ‘छरिएर राखिएको’ जनाएको छ।
शनिबार लाखौं इजरायली नागरिक तेल अभिभसहितका सहरमा सडकमा उत्रिएर सरकारविरुद्ध विरोध गरेका थिए। उनीहरूले युद्ध अन्त्य गरी तुरुन्तै सम्झौता गरेर सबै बन्दी फर्काउन माग गरेका छन्।
यसअघि पनि हमासले दुई पटक इजरायली बन्दीहरूको भिडियो सार्वजनिक गरिसकेको थियो। पछिल्ला तस्वीरहरूले बन्दीका परिवार, इजरायली सरकार, अमेरिकी अधिकारीहरू तथा अन्य सहयोगी मुलुकबीच थप आक्रोश र दबाब उत्पन्न गराएको बताइएको छ।



Leave a Reply