२०८२ मंसिर १५, काठमाडौं
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध १६ वर्षअघि भएको सामूहिक हत्याकाण्डमा संलग्नताको अर्को मुद्दा खुलेको छ। अपराध मानवताविरुद्धका आरोपमा मृत्युदण्ड तथा २१ वर्ष कैद सजाय पाईसकेकी हसिनामाथि अब बीडीआर विद्रोहसम्बन्धी नयाँ फाइल दर्ता गरिएको हो।
सन् २००९ मा बंगलादेश राइफल्स (बीडीआर) का आक्रामक सैनिकहरूले दुई दिनसम्म चलाएको विद्रोहका क्रममा वरिष्ठ सैन्य अधिकारीसहित ७४ जनाको हत्या भएको थियो। सो घटनाको छानबिनका लागि गठन गरिएको आयोगले आइतबार पेश गरेको प्रतिवेदनमा ‘हत्याको आदेश स्वयं हसिनाले दिएकी’ दाबी गरिएको छ।
उक्त विद्रोह हसिना सत्ता सम्हालेको केही हप्ता नबित्दै भएको थियो। त्यसबेला सरकारको कडा आलोचना भएको थियो।
२०२४ को विद्यार्थी आन्दोलनपछि हसिना पदच्युत भइ भारतमा शरण लिएकी छन्। बंगलादेश फर्कन अदालतले दिएको आदेश मान्न उनले अस्वीकार गर्दै आएकी छन्। यता, मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले बीडीआर घटनाको सत्यतथ्य पत्ता लगाउन आयोग गठन गरेको थियो।
अहिले सार्वजनिक प्रतिवेदनले के बतायो ?
आयोगका प्रमुख एएलएम फजलुर रहमानका अनुसार तत्कालीन अवामी लीग सरकार विद्रोहमा प्रत्यक्षरूपमा जोडिएको थियो। पूर्व सांसद फजले नूर तपोशले घटनाको मुख्य समन्वयकको भूमिका खेलेको र हसिनाको सङ्केतमा हत्याकाण्ड अघि बढाइएको दाबी प्रतिवेदनमा उल्लेख गरिएको छ।
रहमानले केही विदेशी शक्तिसँग मिलेर सेनालाई कमजोर बनाउने षड्यन्त्र लामो समयदेखि चलिरहेको आरोप पनि लगाए।
अन्तरिम प्रमुख मुहम्मद युनुसले प्रतिवेदनले २००९ को हत्याकाण्डका वास्तविक कारणहरूबारे धेरै वर्षदेखि रहेको रहस्य हटाएको टिप्पणी गरेका छन्।



Leave a Reply