मंसिर १५, काठमाडौं
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगमा राजनीतिक दलहरूले दर्ताका लागि निकै चहलपहल बढाए। आयोगले दिएको समय सीमा भित्र र थपिएको अवधीमा दर्ता प्रक्रियामा सहभागी भएका २५ नयाँ दलसहित आयोगमा हाल दर्ता भएको दलको संख्या १४३ पुगेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १२० दलले दर्ता निवेदन दिए पनि ११९ दल मात्रै दर्ता प्रक्रिया पार गरे। प्रारम्भिक रुपमा आयोगले मंसिर १ देखि १० गतेसम्म समय दिएको थियो भने माग बढेपछि चार दिन थपेको अवधी आइतबार सकिएको छ। अब सबै निवेदनको सूक्ष्म छानबिनपछि २० मंसिरमा दलहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ।
आयोगमा पुगेका निवेदनमध्ये १४ दलले दुई वा बढी दल मिलेर साझा चुनाव चिह्न माग गरेका छन् भने १०५ दलले एक्लै चुनाव लड्ने गरी निवेदन दिएका छन्।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ वटै दलले पनि चुनाव प्रयोजनका लागि दर्ताका निवेदन पेस गरेका छन्। तर आयोगमा दर्ता रहेका पुराना २४ दलले यसपटक निर्वाचन प्रयोजनका लागि निवेदन नदिएका आयोगले जनाएको छ।
यो वर्ष दर्ता भएका नयाँ दलहरू
यसपटक धेरै परिचित व्यक्तित्वले नयाँ राजनीतिक दल दर्ता गराएका छन्।
धरानका मेयर हर्कराज राई (सामापाङ) ले ‘श्रम संस्कृति’ दर्ता गराएका छन्।
व्यवसायी वीरेन्द्रबहादुर बस्नेतको नेतृत्वमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता भएको छ।
रेशम चौधरीको अगुवाइमा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ दर्ता भएको छ।
ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता भएको छ, जसका अध्यक्ष अरुणकुमार उपाध्याय छन्।
राजेश पोर्तेको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ दर्ता भएको छ।
रियाज अहमद शेषले ‘राष्ट्रिय जनमत पार्टी’ दर्ता गराएका छन्।
अधिवक्ता रमणकुमार कर्ण संयोजक रहेको ‘जनादेश पार्टी, नेपाल’ दर्ता भएको छ।
दलित अभियन्ता खगेन्द्र सुनारले ‘हाम्रो पार्टी नेपाल’ दर्ता प्रक्रिया अघि बढाएका छन्।
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा ‘समुन्नत नेपाल पार्टी’ दर्ता भएको छ।
गणेशकुमार मण्डलबाट ‘सार्वभौम नागरिक पार्टी’ र योगेन्द्र मण्डलबाट ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ता भएका छन्।
श्रेया केसीको अध्यक्षतामा ‘नागरिक सेवा पार्टी’, नुमा लिम्बूको नेतृत्वमा ‘समावेशी समाजवादी पार्टी’ दर्ता भएका छन्।
विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा ‘नागरिक बचाउ दल’ दर्ता भएको छ, जसका अध्यक्ष माधवप्रसाद खतिवडा छन्।
दीपककुमार साहबाट ‘सर्वोदय पार्टी’, प्रकाश खड्काको नेतृत्वमा ‘नेपाल जनसेवा पार्टी’ पनि दर्ता भएका छन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरूको दर्ता संख्या बढ्नुले आगामी चुनावमा प्रतिस्पर्धा झनै चर्को हुने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।



Leave a Reply